नयाँ सरकार गठन गर्न १० दिन लाग्छ, मन्त्रीको नाम टुङ्गो लागेको छैन : रास्वपा प्रवक्ता मनिष झा

2

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको र नाम समेत टुङ्गो नलागेका कारण नयाँ सरकार गठन गर्न १० दिन लाग्नेप्रष्ट पारेको छ । पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यममा आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बताए ।

आज पार्टीको सचिवालय वैठक सुरु हुनुअघि उनले यस्तो बताएका हुन् । समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि औपचारिक छलफल हुने उनको भनाइ छ । झाले भने, ‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन ।

सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ ।’ झाले आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताए । उनले भने, ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिकरुपमा केही अपेक्षा स्वभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन ।

अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्यलाभ चाँडै होस भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’ झाले चुनावी अभियानका क्रममा आफूलाई भावि सञ्चारमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।

समाचार वर्गहरू