काठमाडौं। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन्।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।
बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्।
बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे।
उनले सन् २०२३ मा उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ’नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन्।