काठमाडौं – नेपालको आप्रवासन समस्यालाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले २४ बुँदे सुझाव दिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आईओएमले नेपालको आप्रवासन समस्यासम्बन्धी २०१९ को प्रतिवेदन सार्वजनिक गर्दै २४ बुँदे सुझाव दिएको हो ।
प्रतिवेदनमा आप्रवासी कामदारको सुरक्षाको प्रयासलाई थप प्रभावकारी बनाउन तथा सुरक्षित वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौता गर्न सुझाव दिइएको छ । वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको पर्याप्त फाइदा लिन नसकिरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै लगानीका अवसर प्रदान गर्न र उचित रोजगारीको खोजी गर्नेतर्फ ध्यान दिन आग्रह समेत गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन गर्नुपर्ने, कानूनी प्रकृयालाई सरल बनाउनुपर्ने लगायतका विषयलाई पनि प्रतिवेदनमा समेटिएको छ ।
दिवसको अवसर पारेर आइओएमले नेपालसहित विश्वभरका ८१ वटा देशको अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।