नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

20

काठमाडौं  – एसियाली विकास बैंक एडीबीले आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडीबीले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत कायम हुने प्रक्षेपण गरेको हो ।

एडीबीको प्रतिवेदन अनुुसार, सार्वजनिक पुँजीगत खर्च, स्थानीय तह लगायतको खर्चमा सुधार तथा निजी क्षेत्रको लगानी बलियो भए अर्थतन्त्रमा थप सुधार हुनेछ । एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद् खानोभले यो वर्ष सामान्यप्राय रहेको मनसुन, पूर्वाधार विकासका ठूला आयोजना निर्माणको पहल तथा पर्यटक आगमनमा वृद्धि लगायतले अर्थतन्त्रमा थप सुधार हुनसक्ने बताए ।

यद्यपि, वर्षातको समयमा विभिन्न स्थानमा बाढीले खेतीबालीमा क्षति पुर्‍याएकाले कृषि उत्पादनमा भने कमी आउन सक्ने एडीबीले जनाएको छ । सहज विद्युत आपूर्ति, लगानीमा भएको सुधार लगायत कारण औद्योगिक क्षेत्रको वृद्धिदर भने ७ दशमलव ९ प्रतिशत पुग्ने अनुमान एडीबीको छ ।

यस्तै, सेवा क्षेत्रमा ६ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल हुने एडीबीको प्रक्षेपण छ । कृषिको उत्पादनमा कमी, सरकारी खर्चले गति लिनु तथा भारतमा समेत मूल्यवृद्धिका कारण मुद्रास्फिती केही बढेर ५ दशमलव ५ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

व्यापार र चालू खाता घाटाका कारण बाह्य क्षेत्र अस्थिर हुने खतरा भने उच्च रहेको एडीबीले जनाएको छ । व्यापारिक निर्यात वृद्धिमा अपेक्षाकृत सुधार आएपनि उच्च आयातका लागि व्यापार घाटा भने बढ्ने जनाइएको छ ।

प्राविधिक कर्मचारी लगायत पर्याप्त जनशक्तिको अभाव तथा प्रादेशिक तथा स्थानीय सरकारको क्षमता अभिवृद्धि नहुँदा संघीता कार्यान्वयनमा भने चुनौती कायमै रहने एडिबीले उल्लेख गरेको छ ।

समाचार वर्गहरू