नेपालद्वारा माल्दिभ्स २-१ गोलले पराजित

18

(काठमाडाैं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलमा ५२ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ । नेपालले ३ खेलमा ७ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । माल्दिभ्सले ४ खेलमा २ अंक जोडेको छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ ।

यस्तै, भुटान पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ३-० ले पराजित गर्दै भुटान स्वर्ण नजिक पुगेको हो । योसँगै भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

समाचार वर्गहरू