टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल ४ विकेट विजयी

17

काठमाडौं – नेपालले हङकङलाई ४ विकेटले हराएको छ । पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आइतबार भएको आफ्नो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।

अल अम्रेट क्रिकेट मैदानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा बिनोद भण्डारीले ५८ रनको शानदार अर्धशतकिय इनिङ्स खेले । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको ईनिङ्स आरिफ शेख र बिनोद भण्डारीले उकासेका थिए ।

हङकङले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भए । पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए । सोमपाल कामीले १३ रन जोडेका थिए । हङकङका नर्सुल्ला राना र केली क्रिस्टीले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो ।

हङकङका लागि वाकस बर्कातले सर्वाधिक ३७ रन बनाए । यस्तै किन्चित साहले ३१ तथा निजकात खानले २३ रन बनाए । नेपालका करण केसीले ३६ रन खर्चेर ४ विकेट लिए । अविनास बोहराले १ विकेट लिए । जितसँगै नेपालले १ खेलमा २ अंक जोडेको छ । र, नेपाल तालिकाको दोस्रो स्थानमा छ । ओमान २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

अब नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग आज (सोमबार) खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

समाचार वर्गहरू