नेपाल-चीन सम्बन्धमा कुनै समस्या छैन : राष्ट्रपति सी

14

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल चीन सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा उनले दुई मुलुकको सम्बन्धमा कुनै समस्या नरहेको भन्दै मित्रतामात्र रहेको बताएका हुन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आईपुगेका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने, ‘आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’

नेपाली नेतासँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोरेको बताए । राष्ट्रपति सी चिनफिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्ने बताएका छन् । राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए ।

उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने बताए । केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने उनले बताए । अरनिको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित बताउँदै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको जानकारी दिए । सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत सीले बताएका छन् ।

समाचार वर्गहरू