नेवार समुदायले आज किजापूजा मनाउँदै

15

(काठमाडौं) – नेवार समुदायले बुधबार आज किजापूजा मनाउँदै छन् । मंगलबार भाइटीका नलगाएका काठमाडौं, ललितपुर र भक्तपुर लगायत स्थानका नेवार समुदायले आज भाइटीका लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् शरीर पूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ । कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् ।

किजा पूजाको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पञ्चांग निर्णायक समितिले लक्ष्मी पूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी बिमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई टीका लगाइदिन्छन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन् ।

समाचार वर्गहरू