पत्रकार महासघ स्थापनाको ७१ औँ वर्षमा प्रवेश : श्रमजीवि पत्रकारको हकहित नारामा सिमित

61

काठमाडौँ । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आज (सोमबार) देखि स्थापनाको ७१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले विभिन्न कार्यक्रम गर्दा पनि श्रमजीवि पत्रकारहरुको हकहितको नारामा मात्र सिमित भएको भन्दै चिन्ता समेत प्रकट गरेका छन् ।

महासंघ श्रमजीवि पत्रकारका हकहितमा काम कारबाही गर्ने मुख्य उदेश्य भएपनि दलगत रुपमा स्थापना भएका संघसंगठनको सिन्डिकेटमा परेको र आफु अनुकुल व्याख्य गर्दैे कार्यक्रम गर्दै आएकाले श्रमजीवि पत्रकारहरुको नाममा नारामात्र लगाउन महासंघ सिमित भएको आम सदस्यहरुले बताएका छन् ।

यसैक्रममा सोमबार महासंघकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको दाबी गरेपनि सदस्यहरुले भने पत्याएका छैनन ।

महासंघले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरेपनि त्यो पुर्वाग्रह राखेर काम गरेको समेत सदस्यहरुले बताएका छन । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढेको मिथ्या सूचनाको प्रवाहलाई पत्रकारिताका लागि मुख्य चुनौतीका रूपमा लिइएको छ।

प्रतिनिधिसभाको निर्वाचनपछि बनेको दुई तिहाइको सरकारले राजनीतिक अस्थिरता अन्त्य गर्ने विश्वास लिँदै महासंघले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू सरोकारवालासँगको छलफलमा ल्याउन माग गरेको छ। विशेषगरी जेन्जी आन्दोलनका क्रममा मारमा परेका सञ्चार गृह र घाइते पत्रकारहरूलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग आग्रह गरिएको छ। राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए महासंघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।

महासंघले अहिले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहलकदमी अगाडि बढाइरहेको छ। पत्रकारको भौतिक तथा पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल गरेकी छन्।

समाचार वर्गहरू