वीरगञ्ज – पर्सामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण प्रसाद रौनियारसहित जिल्लामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार बेलुकीसम्म प्राप्त रिपोर्ट अनुसार पोखरिया नगर प्रमुख रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् ।
संक्रमित मध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार क्वारेन्टिनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि साउन २७ मा ११ सयभन्दा बढी स्वाबको नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।
त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पर्साबाट पठाएका स्वाबको पीसीअरा विधिबाट गरिएको परीक्षणको रिपोर्ट आउने क्रम शुरु भएको छ । केही स्वाबको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र केही धुलिखेलमा परीक्षण भइरहेको छ ।