काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ ।
एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् ।
‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले रातोपाटीसँग भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।
यसैबिच शनिबार बिहान पक्राउ पुर्जी लिएर प्रहरी ओली निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविदहरुसँग छलफल गरेका थिए ।
पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए । ओलीसँग संवाद गरेका कानुनविद् भट्टराईले ओलीको भनाई उद्धृत गर्दै भने, ‘यो राजनीतिक प्रतिशोधपूर्ण घटना हो ।
यसको म कानुनी लडाइँ लड्छु तपाईँहरू तयारी गर्नुहोस् ।’ वरिष्ठ अधिवक्ता भट्टराईले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए । यसैगरी, पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने बताएका छन् ।
नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरेपछि आचार्यले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साह्रै नै नमिल्ने कुरा भइरहेको छ । प्रतिशोध र धरपकडले भलो गर्दैन।’ शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर ओली र लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
यसैबीच, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर भोलि सर्वोच्च अदालत जाने बताएका छन् ।
प्रहरीले ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै पक्राउ गर्नु गैरकानुनी रहेकोले बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जाने वरिष्ठ अधिवक्ता भट्टराईले रातोपाटीसँग बताए । दुई जनालाई पक्राउ गरेको प्रक्रिया पनि मिलेको छैन र यसरी कानुनी प्रक्रिया नपुर्याई पक्राउ गर्नु नै गलत छ,भट्टराईले भने, जरुरी पक्राउ पुर्जी प्रहरीले जारी गर्न त सक्छ ।
तर त्यो भनेको भागेर कतै जाने सम्भावना भएको अवस्थामा र प्रमाण नष्ट गर्ने हकमा मात्रै हो । ‘दुई जनालाई गरिएको पक्राउ प्रक्रियागत रूपमा गलत र दोषपूर्ण छ,’ वरिष्ठ अधिवक्ता भट्टराईले भने ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो ।