काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन ।’ हाल देउवा दम्पत्ति विदेशमा छन् । शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको छ । प्रहरी प्रधान कार्यालय स्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) बाट नोटिस जारी हुने प्रावधान छ ।
पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा। राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ । देउवा दम्पतीको इस्यु अनुसन्धानकै क्रममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए ।
उनले भने, ‘त्यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ ।’ देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको विषय महानिर्देशक ठाकुरले अस्वीकार गरेका छन् । तर, विभागका एक जना अधिकृतका अनुसार काठमाडौँ जिल्ला अदालतबाट न्यायाधीश महेन्द्रबहादुर कार्कीले पक्राउ अनुमति दिएका हुन् । पुर्जी जारी भएपछि विभागले देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ । अध्यागमन स्रोतका अनुसार आरजु २०८२ फागुन १० मा भारत र शेरबहादुर देउवा २०८२ फागुन १३ मा सिंगापुर गएको देखिन्छ ।
देउवा दम्पती हाल हङकङमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरूले अध्यागमन विभागबाट एक साताअघि नै उनीहरूको यात्रा विवरण ल्याएको बताइएको छ । यात्रा विवरणमा विदेश गएको पुष्टि भएपछि उनीहरू विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था छ । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) को आग्रहमा इन्टरपोल महासचिवालयबाट विभिन्न प्रकारका नोटिस जारी गरिन्छ ।
अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन जारी गरिन्छ । अदालतबाट वारेन्ट जारी नभएको अवस्थामा गरिने ‘सूचनात्मक परिपत्र’ नै डिफ्युजन हो । इन्टरपोल महासचिवालयबाट जारी गरिने डिफ्युजन कै आधारमा मात्र आरोपी पक्राउ पर्दैनन् । खोजी सूचीमा रहेका आरोपी डिफ्युजनबाट लोकेट भएपछि पक्राउका लागि रेड नोटिस जारी गर्ने गरिन्छ । अपराध अनुसन्धान गर्न रेड नोटिस र डिफ्युजन जस्तै अन्य ८ प्रकारका नोटिस जारी गरिन्छ ।
इन्टरपोलको सदस्य संगठनहरुको आग्रहमा फ्रान्सको लियोन स्थित इन्टरपोल महासचिवालयबाट त्यस्ता नोटिस जारी गरिन्छ । १९६ देशका प्रहरी संगठन इन्टरपोलका सदस्य छन् । इन्टरपोलबाट रेड, ब्लू, ग्रिन, ओरेन्ज, ब्ल्याक, यल्लो र पर्पल नोटिस जारी गरिन्छ । रेड नोटिस दुई वर्षभन्दा धेरै कैद सजाय हुने अपराधमा संलग्न आरोपीका डिफ्युजन मात्रै जारी गरिन्छ । देउवा दम्पतीको हकमा कुन नोटिस जारी गर्ने भन्नेबारे यकिन भैसकेको छैन ।