पूर्वसभामुख महरा पुर्पक्षका लागि कारागार चलान

13

(काठमाडौं) – बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको थियो ।

तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको भन्दै न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासले उनलाई कारागार चलान गर्न प्रहरीलाई आदेश दिएको हो । अदालतको आदेशपछि महरालाई प्रहरीले डिल्लीबजार कारागार चलान गरेको छ ।

अदालतको आदेश पछि उनलाई सोमबार डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ । जिल्ला न्यायाधीश पाण्डेको बन्द इजलासले आइतबारदेखि सुरु भएको थुनछेक बहसपछि सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यससँगै यो मुद्दाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।

पीडित महिलको किटानी जाहेरीपछि महरालाई प्रहरीले गत असोज १९ गते काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

समाचार वर्गहरू