प्रतिनिधिसभाको लोभमा राष्ट्रिय सभा छोडेका बामदेवले पाएनन् टिकट

83
फाइल फोटो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका बामदेव गौतम चुनावी रेसबाट बाहिरिएका छन् ।

उनले आफू चुनाव नलड्ने निधो गरेको बताए । ‘मैले चुनाव लड्न चाहँदा बर्दियाका दुईवटै क्षेत्र थिए । म उठ्दा दुइवटै क्षेत्रबाट बाहुन–बाहुन उम्मेदवार हुने जस्तो भयो । त्यसपछि मैले एउटा क्षेत्रमा थारुलाई उठाउनुपर्छ भनेँ र चुनाव नलड्ने निधो गरेँ । सोही अनुसार हाम्रो पार्टीले उम्मेदवार तय गरेको छ,’ गौतमले भने ।

नेपाली कम्युनिस्ट पार्टीले बर्दिया १ बाट विष्णु प्रसाद थारु र बर्दिया २ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ ।

आफू हरेक चुनावमा जनताको मनसाय ख्याल गनुपर्छ भन्ने व्यक्ति रहेको र सोही अनुसार अगाडि बढ्दै आएको नेता भएको उल्लेख गर्दै उनले यसपटक पनि जनताको सेन्टिमेन्ट ख्याल गरेर आफू पछाडि हटेको बताए ।

अर्को क्षेत्रबाट चुनाव लड्ने चाहना छ कि छैन भन्ने प्रश्नमा उनले ‘अन्तबाट चुनाव नलड्ने’ जवाफ दिए ।

प्रतिनिधिसभा सदस्यको चुनावमा उठ्ने तयारीसहित गौतमले राष्ट्रिय सभा सदस्यको पदबाट राजीनामा दिएका थिए ।

समाचार वर्गहरू