काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।
यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ । आजकै बैठकले संसदको काम कारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।
सो बैठकमा नेकपा एमालेले संसदमा विधिको शासन र संविधान प्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने बताएको छ । बैठकपछि एमाले नेता गुरु बरालले विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने काममा लाग्ने समेत बताए ।
जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमा प्रश्न उठ्छ त्यो गम्भीर विषय छ । हामी त्यस विषयमा आवाज बुलन्द गर्ने छौं उनले भने । उनले संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने जानकारी उनले दिए ।
अन्यथा सरकारको प्रतिवाद गर्ने उनले चेतावनी दिए । ‘त्यस विषयमा सरकार कुनै ढंगले विघ्नबाधा नल्याओस् । बिघ्नबाधा सरकारले ल्याए हामी प्रतिवाद गर्नेछौं,’ उनले भने ।