काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको घोषणा गरिएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति अर्याल निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए ।
त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।
शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, राष्ट्रिय सभाको बैठक अपराह्न १२ : १५ बजे सिंहदरबारमा बसेको छ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ ।
त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।