प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलसिस, आजै डिस्चार्ज हुने

16

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पतालमा उनको तेस्रो पटक होमोडायलसिस गराएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको आज पुन: हेमोडायलासिस गरिएको जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उपचार पश्चात उहाँ आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई गत कात्तिक १२ र १३ गते डायलसिस गराएका थिए । शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ’ब्लक’ हुने सम्भावना हुन्छ । स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ ।

बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ । रगतमा ’एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुर गएर ’प्लाज्माफेरेसिस’ गरेका थिए ।

रगतमा रहेको प्लाज्माले ’एन्टिबडी’ बोक्ने काम गर्छ । प्लाज्माफेरेसिस मार्फत ’एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ । सिंगापुरमा गरिएको प्लाज्माफेरेसिस कति प्रभावकारी हुन्छ यकिन हुन केही समय लाग्ने चिकित्सकहरूले बताएका थिए ।

समाचार वर्गहरू