प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो

66

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

प्रधानमन्त्री शाहले पनि समकक्षी मोदीको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पठाएका छन् । निमन्त्रणासँगै सरकारले प्रधानमन्त्री शाहको भ्रमणको तयारी थालेको बताइएको छ ।

शाह प्रधानमन्त्री भएपछि मोदीले विदेश मन्त्रालयमार्फत पठाएको लिखित बधाई सन्देशमा उपयुक्त समयमा भारतमा स्वागतका लागि प्रतीक्षारत रहेको उल्लेख गरेको परराष्ट्रमन्त्री शिशिर खनालले पुष्टि गरेका छन् । साथै, शुक्रबार मौरिससमा भएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा सुरुमा काठमाडौंमा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राख्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तय गर्ने सहमति बनेको मन्त्री खनालले बताए ।

मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयले भारतलाई जवाफी चिट्ठीमा उपयुक्त समयमा कूटनीतिक च्यानलमार्फत भ्रमण तय गर्ने भनेको छ ।

‘कुनै मिति तय भएको होइन, निमन्त्रणाको औपचारिकता प्राप्त भएको हो र हामीले जवाफ त्यहीअनुसार पठाएका छौँ । एकपटक प्राविधिक तह (परराष्ट्रसचिवस्तरीय) वार्ता काठमाडौंमा हुन्छ, त्यसपछि उच्चस्तरीय भ्रमणका लागि प्रक्रिया अघि बढ्छ,’ खनालले भने ।

समाचार वर्गहरू