प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पाँच अर्ब बढी विनियोजन

19

काठमाडौं, – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार नीति निर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार, अर्थशास्त्री, सरकारका उच्च अधिकारी तथा स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल गरेको हो ।

कार्यक्रम कार्यान्वयनका सन्भर्दमा गत वर्ष देखिएका सानातिना कमजोरीलाई सच्याउँदै बढी भन्दा बढी प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताए । गत वर्ष रोजगार कार्यक्रमले विपन्न, गरीब, दलित तथा महिलाको आर्थिक सशक्तीकरणमा ठूलो टेवा दिएको उल्लेख गर्दै उनले मूलतः प्रधानमन्त्री रोजगार कार्यक्रम सामाजिक संरक्षणमा आधारित रहेको प्रस्ट पारे ।

‘आधा पेट, एक पेट खाएर अत्यन्त दर्दनाक जीवन बाँच्ने नागरिकको जीवनलाई सुरक्षा प्रदान गर्न रोजगार कार्यक्रम आएको हो, मन्त्री विष्टले भने, सरकारले काम गरेर खान पाउने अवस्था सिर्जना गर्ने हो । यो विशुद्ध सामाजिक संरक्षणको कार्यक्रम हो ।’

गरीब, विपन्न समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग गर्ने ढङ्गले कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता बोध गर्दै मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

गत आर्थिक वर्षको अन्त्यमा मात्र कार्यान्वयनमा आएको रोजगार कार्यक्रमले छोटो अवधिमा भए पनि झण्डै दुई लाख जनालाई रोजगारी उपलब्ध गराएको थियो । रोजगारीका अवसर सिर्जना गर्न सात हजार ४६० सामुदायिक आयोजना सञ्चालन गरिएको थियो । गत आर्थिक वर्षमा सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्न तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न पाँच अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

समाचार वर्गहरू