काठमाडौँ । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर भएसँगै मौसममा सुधार हुन थालेको छ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो लगातारको वर्षा अब नहुने बताइन्।
पोखरेलका अनुसार प्रि–मनसुनका गतिविधि भने कायमै रहने र आइतबार पनि कतैकतै छिटफुट बदली रहने छ। अहिले नेपालको पूर्वी क्षेत्र र अन्य केही स्थानमा हल्का वर्षा भइरहेको र यो पनि बिस्तारै हट्दै जाने उनले बताइन्। वर्षा गराउने मुख्य प्रणाली बाहिरिए पनि घाम लाग्ने र फेरि बदली हुने क्रम प्रि–मनसुनमा चलिरहने तर ठूलो र लामो वर्षा भने तत्काल नहुने उनको भनाइ छ।
विभागको अभिलेख अनुसार अहिले कोशी, बागमती र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। विभागको पछिल्लो २४ घण्टाको विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ। यसैगरी रूपन्देहीमा ७५.२, मोरङमा ६३.८, धनकुटामा ६३.२ र कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। रासस