फोहोरमैलाबाट बायोग्यास प्लान्ट सञ्चालनको तयारी

33

रासस (झापा) – झापाको कनकाईमा फोहोरमैलाबाट नेपालकै पहिलो स्तरको बायोग्यास प्लान्ट सञ्चालन हुने गरी तयारीलाई तीव्र बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोे घरघरमा पाइपलाइनबाट ग्यास पुऱ्याउने सपना साकार बनाउने अभियानको निरन्तरता स्वरुप १८ करोड रुपैयाँको लागतमा कार्य सम्पन्न हुने गरी प्लान्ट निर्माणको काम सञ्चालन भएको हो । पहिलो पटक ९ सय घरधुरीमा पाइपलाइनबाट बायोग्यास पुऱ्याउने लक्ष्य रहेको बताइएको छ ।

झापाका तीन नगरपालिका कनकाई, बिर्तामोड र अर्जुनधाराको फोहर सङ्कलन गरेर बायोग्यास र डिजेल उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माणको काम प्रारम्भ गरिएको हो । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेड नामको संस्था दर्ता गरी कनकाई–२ स्थित सुकेडाँगीमा प्लान्ट निर्माणको कार्यलाई निरन्तरता दिइएको बताइएको छ ।

प्लान्ट सञ्चालनका लागि ८९ लाख रुपैयाँमा ५७ कट्ठा जग्गा खरिद गरी ५४ लाख रुपैयाँको लागतमा स्थानीय सन्का खोलामा बाँध बाँधेर बायोग्यास प्लान्ट निर्माणस्थललाई व्यवस्थित बनाइएको कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए ।

फोहर मैला सङ्कलन गरी फोहरलाई मोहोरमा बदल्ने स्थानीय तहको योजना अनुरुप दिगो फोहरमैलाको व्यवस्थापन गरी बायोग्यास प्लान्ट निर्माण हुन लागेको बताइएको छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीले एक विशेष कार्यक्रमबीच संस्थाको ‘प्रगति विवरण एवं आगामी कार्ययोजना’ समेत सार्वजनिक गरिसकेको छ ।

संस्थामा हालसम्म ५८५ शेयर सदस्य भएका छन् भने संस्थापक शेयरका लागि यही पुस १५ गतेसम्म समय थप गरिएको अध्यक्ष तिम्सिनाले बताए । शेयर सदस्यले न्यूनतम १० हजार रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्मको शेयर खरिद गर्न पाउने व्यवस्था गरेको बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू