बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आज नेपाल आउँदै

19

(काठमाडौं) – बंगादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भ्रमणका लागि आज नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति हमिदलाई विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्रले जनाएको छ ।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षी लगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने तय भएको छ ।

हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपतिले आयोजना गर्ने राजकीय भोजमा पनि हमिद सहभागी हुनेछन् ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भलाकुसारी गर्ने कार्यतालिका रहेको परराष्ट मन्त्रालयले जनाएको छ ।

चार दिने नेपाल बसाईका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरा लगायत स्थानको पनि अवलोकन गर्ने कार्यतालिका छ ।

समाचार वर्गहरू