बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

42

दाङ – बागमतीलाई हराउँदै सुदूरपश्चिम प्रदेश दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

समूह ’बी’ मा रहेको सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनल पुग्ने क्रममा बिहीबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई २८ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको ७७ रनको लक्ष्यलाई पछ्याएको बागमतीले निर्धारित ११ ओभरमा ९ विकेट गुमाएर ४८ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि ओपनर ब्याट्सवुमन सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बागमतीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमकी कविता जोशीले सानदार बलिङ प्रस्तुत गरिन् । उनले जारी प्रतियोगिताको पहिलो ह्याट्रिकसहित ५ विकेट लिईन् ।

आफ्नो स्पेलको २ ओभर बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ५ विकेट हात पारेकी थिइन् । यस्तै, टोलीका लागि कविता कुवार, रितु कनौजिया र लक्ष्मी साउदले पनि १–१ विकेट लिईन् । त्यसअघि खराब मौसमका कारण ११ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएको थियो ।

टिमले उक्त योगफल बनाउने क्रममा डली भट्टले आक्रमक ब्याटिङ गरिन् । अविजित रहेकी उनले मात्र १४ बलको सामना गर्दै २ चौका र २ छ्क्का सहित २८ रनको योगदान गरिन् ।

यस्तै टोलीका लागि ओपनर ब्याटर कविता कुवारले पनि अविजित रहँदै १९ रन बनाएकी थिइन् । यी दुई बाहेक टोलीका लागि कविता जोशीले १२ रन , मन्जु बोगटीले ५ रन र रेवती धामीले २ रन बनाएकी थिइन् । बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट हात पारिन् ।

निशा तामाङले पनि १ विकेट लिएकी थिइन् । सेमिफाइनल पुग्ने क्रममा सुदूरपश्चिमले समूह चरणमा ३ खेल मध्य २ खेल आफ्नो पक्षमा पार्न सफल भयो । यता सुदूरपश्चिमसँग पराजित भएको बागमती समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि गण्डकी प्रदेश बाहिरिएको थियो ।

यस समूहबाट सुदुरपश्चिमसँगै प्रदेश १ ले सेमिफाइनल पक्का गरेको छ । यस्तै, समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकको छ । प्रतियोगिताको दुबै सेमिफाइनल खेल पुस १८ गते हुनेछ । फाइनल खेल पुस १९ गते हुनेछ ।

समाचार वर्गहरू