काठमाडौं – निर्वाचन परिणामको जिम्मेवारी र पार्टी पुनर्गठनको मुद्दामा एमालेभित्र सुरु विवाद झन् चर्किँदै जान थालेको छ । निर्वाचन हारको जिम्मेवारीसहित पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीले स्वैच्छिक बहिर्गमन नलिए विशेष महाधिवेशनमा जाने इतरसमूहको गृहकार्यबिच संस्थापनपक्ष प्रतिवादमा लागेको छ । शीर्ष नेताहरू नै आरोप–प्रत्यारोपमा उत्रेका छन् ।
कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसद्मा दिएको ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति पार्टीलाइन र निर्णयअनुसार नै रहेको दोहोर्याएपछि विवाद तनावपूर्ण हुने अवस्था आएको हो । जबकि गत शुक्रबार सचिवालय बैठकले चुनावी परिणाम स्वीकार गर्दै बादलको अभिव्यक्ति सच्याएको जनाएको थियो ।
कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसद्मा आफूले गरेको सम्बोधनले ‘पार्टीभित्र र बाहिर’ का दुश्मनहरू एक्स्पोज’ भएको भन्दै पार्टी नेताहरूमाथि नै प्रहार गरेका हुन् । उनले नाम त लिएका छैनन् । तर, उपाध्यक्ष विष्णु पौडेलले उठाएको प्रश्नमा उनलाई दक्षिणपन्थीको उपमा दिँदै जवाफ दिएका छन् ।
बुधबार बादलले संसद्मा राखेको अभिव्यक्ति पार्टी लाइनविपरीत भन्दै बिहीबार उपाध्यक्ष पौडेलले खण्डन गरेका थिए । जबकि बादलले अध्यक्ष केपी ओलीसँगको परामर्शमै संसद्मा सम्बोधन गरेको जनाउँदै अभिव्यक्तिमा अडिग रहेको मात्र बताएनन्, पार्टीभित्रका ‘दक्षिणपन्थीहरू’ एक्सपोज भएको सुनाए ।
‘पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो । उहाँले संसद्मा दलको नेताबाट जुन धारणा राखियो त्यो पार्टीको मान्यताविपरीत छ, त्यसमा घोर आपत्ति छ र त्यसबारे सचिवालयको बैठक बसेर उपयुक्त निर्णय दिइनेछ भन्नुभयो,’ बादलले पोखरामा भनेका छन्, ‘यहाँ हेर्नुस्, अन्तरसंघर्षको स्थिति के छ । कोको मान्छेहरू वक्तव्यबाट उत्तेजित भए । भित्र लुकेका थिए र बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्ति एक्सपोज गरेको मात्र हो ।’
यद्यपि, उनले पौडेलको नाम नलिई उनले लेखेको स्टाटसको खण्डन गरेका हुन् । ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दल नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । र, केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्यो,’ बादलले भने, ‘त्यो कन्फ्युजन क्लियर गर्न स्टेटमेन्ट दिएको हो । त्यसकारण त्यहाँ जे बोलियो, सदनमा जे दिइयो, त्यो पार्टीको लाइन नै हो । मैले पार्टी निर्णय दृढतापूर्वक लागू गरेको हो । त्यो वास्तवमा देश र जनताको दुश्मनलाई बोल्ड्ली प्रहार हो । लुकेका दक्षिणपन्थीहरूलाई पनि आक्रमण हो । पार्टीकै लाइनअनुसार बोल्दा बाहिर त छँदै थिए, भित्रका दुश्मनहरू पनि एक्सपोज भए ।’
संसद्को पहिलो बैठकमा दल नेताको हैसियतमा बोल्दै थापाले भनेका थिए, ‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक रूपमा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु । यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु ।’
त्यसलगत्तै, सामाजिक सञ्जालबाट उपाध्यक्ष पौडेलले खण्डन गर्दै दलको नेताका हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका थिए । ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको दलको नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।
बादलको मन्तव्यपछि एमालेभित्र खैलाबैला मच्चिएपछि भोलिपल्ट शुक्रबार सचिवालय बैठक बसेर अभिव्यक्ति सच्याएको थियो । ‘संसदीय दलका नेताका अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल गरेर केही अस्पष्टलाई बैठकले स्पष्ट पार्ने काम गरेको छ । उहाँको कुरा गलत थिएन, तर त्यसले केही अन्तरविरोध देखा पर्यो । उहाँको अभिव्यक्तिबाट जनमतलाई अलिकति नस्विकारेको जस्तो देखिएको हुनाले जनताले दिएको मतलाई हामीले सम्मान गर्छौँ भनेर कन्फ्युजन स्पष्ट पारेका छौँ,’ बैठकपछि उपमहासचिव लेखराज भट्टले भनेका थिए, ‘मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्युरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा बैठकले स्पष्ट पारेको छ ।’
निर्वाचनमा धक्का खाएको एमालेभित्र संस्थापन इतरपक्षले अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल सुरु गरेपछि विवादको पारो चढेको हो । संस्थापन इतरपक्षले पार्टीलाई पुनर्जीवित गर्दै पूर्वावस्थामा फर्काउन अध्यक्षको राजीनामा र केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन अनिवार्य रहेको बताएको छ । जबकि संस्थापन पक्षले अध्यक्ष प्रहरी हिरासतमा रहेको वेला विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको गृहकार्य गरेको भन्दै असन्तुष्टि जनाएको छ । नयाँपत्रिका