भक्तपुरका मिठाई पसलमा अनुगमन, अखाद्य रसायन र रङ्ग मिसावट

15

काठमाडौं । भक्तपुरका मिठाइ पसलहरुमा बिक्रीका लागि राखिएका मिठाइमा अखाद्य रसायन र रङ्ग मिसाइएको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भक्तपुर नगरपालिकाले बिहीबार नगरपालिकाको ७ वटा मिठाइ पसलहरुमा अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

अनुगमन क्रममा पनिर किमा, लड्डु, समोसा र फिनी रोटी जस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।

नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित शाक्य स्विट्स, बिनायक मिठाइ भण्डार, सुरज मिठाइ भण्डार, जल्पादेवी मिठाइ भण्डार, लवजु मिठाइ भण्डार, रामेछाप मिठाइ भण्डार र श्रेष्ठ मिठाइ भण्डारमा अनुगमन गरिएको उनले बताए ।

अनुगमनमा क्रममा रामेछाप मिठाइ भण्डारबाट भेज पनिर किमा २ किलो, लड्डु १ किलो, समोसा ३५ पिस नष्ट विभागका प्रवक्ता मर्हजनले जानकारी दिए ।

यस्तै, श्रेष्ठ मिठाई भण्डारबाट चास्नी करीब ३ किलो, अखाद्य रङ्ग प्रयोग गरी बनाइएको फिनी रोटी करिब ४० पिस नष्ट गरिएको छ । लवजु मिठाई भण्डारबाट अखाद्य रङ्ग प्रयोग गरिएको लड्डु १.५ किलो, फिनी रोटी करीब ५० पिस नष्ट गरिएको थियो ।

सबै मिठाइ पसलहरुलाई पहिलो पटकका लागि सरसफाइको अवस्था सुधार गर्न निर्देशन समेत दिइएको उनले बताए ।

समाचार वर्गहरू