काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (बिहीबार_ देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ। चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन्। परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन्। यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन्। गत वर्ष पनि जापानमा परीक्षा केन्द्र कायम गरिएको थियो।
पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए।
बोर्डले यसवर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा मात्र अनुगमन गर्ने निर्णय बोर्डले गरेको छ।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने गरि व्यवस्था मिलाइएको छ। प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरेअनुसार आवश्यकताको आधारमा सुरक्षाकर्मी परिचालन हुनेछन्। यद्यपि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ।
यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको छ। सम्बन्धित केन्द्रममा शिक्षक नभएमा वा असुरक्षित भएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ। परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो। शिक्षामन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिइ सकेका छन्। गत वर्षसम्म एसईईको नतिजा असार दोस्रो सातासम्ममा सार्वजनिक हुने गरेको थियो।