मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ सहित पाँच पक्राउ

14

काठमाडौं –  ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सीईओ सहित ५ जना पक्राउ परेका छन् । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अस्पतालका सीईओ, एक चिकित्सक सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधान, कानूनी अधिकृत (लिगल अफिसर) कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले छन् । त्यस्तै, मिर्गौला प्रत्यारोपण गरिएका शंकरलाल लामा (योञ्जन) पनि पक्राउ परेका छन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका अस्पतालका कर्मचारी मिर्गौला प्रत्यारोपण स्वीकृत समितिका पदाधिकारीहरु हुन् । ब्युरोका एक अधिकृतले भने, ‘एक व्यक्तिको नाममा अर्कै व्यक्तिले मिर्गौला दिन लागेको सहिजै बुझिने आधार भएपनि नरोकेकाले उहाँहरु कसूरदार ठहरिनु भएको छ ।’

नीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ । ब्यूरोका प्रवक्ताप्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार मिर्गौला ग्रहण गरेका बिरामी शंकरलाल लामाले नै काभ्रे स्थायी घर भएका एक व्यक्तिलाई नक्कली नाता लगाई मिर्गौला प्रत्यारोण गर्नका लागि कागजपत्र तयार पारेको देखिएको छ । यस्तै पीडितको खातामा तीन लाख रकम हालिएको समेत पुष्टि भएको छ ।

समाचार वर्गहरू