काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई १ हजार ५०४ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमाले उम्मेदवार विष्टले १ हजार ८०३ मत प्राप्त गरेका थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङले १५१, उज्यालो नेपाल पार्टीका डा. सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले ९ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले ३ मत प्राप्त गरेका छन् ।
मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा छ हजार २९८ मत खसेको थियो, जसमध्ये १०७ मत बदर थियो । पर्यटन र होटेल व्यवसाय हुँदै राजनीतिमा सक्रिय थकाली मुस्ताङबाट अघिल्लो २०७९ को निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका थिए । योगेशको जन्म २०५० साल वैशाख १७ गते मुस्ताङको थासाङ–३ लेतेमा भएको हो।
२०७९ सालमा सम्पन्न सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी हुँदै खाता खोलेका उनले २०८२ मा पनि कांग्रेसका लागि खाता खोल्न सफल भएका छन् । अघिल्लो चुनावमा उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका थिए ।
पहिलो पटक विजयी हुँदा उनले तीन हजार ९९२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका थिए । योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचन र आमा लक्ष्मी थकालीका छोरा हुन । मुस्ताङमा राजनीतिक परिवारमा जन्मीएका थकालीले विद्यालय शिक्षा ललितपुरको लिटल एन्जेल्स स्कुलबाट लिएका हुन ।
उनले २०६८ सालमा एसएलसी दिएर विद्यालय तहको पठाइ पूरा गरेर उच्च शिक्षाका लागि भारत गएका थिए । बङ्गलोरस्थित एलायन्स विश्वविद्यालयबाट उनले ब्याचलर अफ विजनेस म्यानेजमेन्टको अध्ययन पूरा गरेका थिए ।
राजनीति सुरु गर्नु अगाडि नै विभिन्न पेसा र व्यवसायको नेतृत्वदायी भूमिकामा सक्रिय थकालीले राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिएका थिए उनले होटेल र टुर्स एन्ड ट्राभल्स कम्पनीको नेतृत्वदायी भूमिकामा अझै सक्रिय रहेका छन् ।
कृषिलाई युवासँग जोड्नुपर्छ भन्ने उनको केही समययता मुस्ताङमा व्यावसायिक किबी खेती गर्दै आएका थिए। २०६१ सालदेखि राजनीतिमा आबद्ध थकाली जिल्ला, क्षेत्र हुँदै केन्द्रीय राजनीतिमा जोडिएका थिए । उनी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य बनेर काम गरेको अनुभव रहेको बताइएको छ ।