मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलित

18

(काठमाडौं) – निजी मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ताको माग सहित चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन् । निजी मेडिकल कलेजहरुले असुल्दै आएको बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका थिए । विभिन्न जिल्लाबाट प्रर्दशनका लागि विद्यार्थी काठमाडौं आएको चिकित्सा शास्त्र संघर्ष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ३ दिनसम्म लगातार राजधानीमा प्रदर्शन गरिने उनले बताए ।

कलेजहरुले बढी लिएको शुल्क फिर्ताको माग गर्दै विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु ९ महिनादेखि आन्दोलनरत छन् । यसअघि लिएको अतिरक्त शुल्क र चिकित्सा शिक्षा आयोगले गरेको आगामी शैक्षिक सत्रका लागि शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग छ ।

पछिल्लो समय राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलनमा उत्रिएका छन् । गण्डकी, चितवन, नेशनल, किष्ट, युनिभर्सल, जानकी लगायत मेडिकल कलेजका विद्यार्थी प्रर्दशनमा सहभागी थिए । सेतो एप्रोन सहित विद्यार्थीले नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।

समाचार वर्गहरू