यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

8

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारीचालक अनुमतिपत्र वितरणमा घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल फोन नियन्त्रणमा लिएको छ। कार्यालयका कर्मचारीहरूले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाइदिने भन्दै सेवाग्राहीबाट घुस असुल्ने गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

सोही क्रममा आयोगले २७ जनाबाट ३७ थान मोबाइल फोन जफत गरेको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १७ जना यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारी रहेका छन्। यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरी कर्मचारीको मोबाइल समेत जफत गरिएको छ।

त्यसैगरी, लाइसेन्स प्रक्रियामा संलग्न विभिन्न विचौलियाहरूको मोबाइल फोन पनि अख्तियारले नियन्त्रणमा लिएको आयोग स्रोतले जानकारी दिएको छ। अख्तियारका अनुसार जफत गरिएका मोबाइलका आधारमा घुस लेनदेन, विचौलियाको संलग्नता र संगठित नेटवर्कबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा संलग्नता पुष्टि भए कानुनी कारबाही अघि बढाइने आयोगले जनाएको छ।

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका असई डोरहरी नेपालसहित तीन जनाको मोबाइल पनि आयोगले नियन्त्रणमा लिएको छ। नेपाल ड्राइभिङ एण्ड रिकण्डिसन सेन्टरका सञ्चालक बालकृष्ण सिंहसँग मिलेर सेटिङ हुने गरेको सूचनाका आधारमा आयोगले छापा हानेको हो।

सिंहसहित उनका कार्यालयका अन्य नौ जनाको मोबाइल पनि आयोगले जफत गरेको छ। त्यस्तै, लिखित परीक्षा फेल भएको तीन महिना नपुग्दै पुन परीक्षामा सहभागी भएका परिक्षार्थीको उत्तरपुस्तिका लगायत कागजात पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

५ देखि १५ हजार रुपैयाँ लेनदेनमा परिक्षामा अनुत्तीर्ण भएकालाई पास गराउने र फेल भएको तीन महिना अवधि नपुगी पुनः परिक्षामा सहभागी गराउने गरेको प्रमाण संकलन गरेपछि आयोगको टोली मंगलबार पुगेर कर्मचारीको मोबाइल जफत गरेको हो।

समाचार वर्गहरू