रविको सांसद पद स्वतः निलम्बन, सभापति पनि गुम्ने

165

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वतः निम्बलन हुने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ बमोजिम उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो।

रास्वपा सभापति लामिछानेमाथि कास्की जिल्ला अदालतमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।

महानन्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन भएको बताए।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सम्पत्ति शुद्धीकरण ऐनबमोजिम मुद्दा दर्ता भएसँगै स्वतः सांसद पद निलम्बन हुने कानुनी व्यवस्था रहेको आफूले सुनेको बताए। उनले मुद्दा लामिछानेमाथि मुद्दा दर्ता भएसँगै पार्टी सभापति र संसदीय दलको नेता पनि परिवर्तन हुने जानकारी दिए।

‘सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको भनिएको छ। त्यो कानुनअनुसार नै हुने भयो,’ झाले भने,‘अब पार्टी सभापति र संसदीय दलको नेता पनि परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।’

केही दिनभित्रै पार्टीको बैठक बसेर कार्यवाहक सभापति र संसदीय दलको नेता चयन गर्ने विषयमा निर्णय हुने उनको भनाइ छ।

समाचार वर्गहरू