रवि, छवि, जिबी र दिपेश सहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

42

काठमाडौं – जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बिहीबार र आइतबार जिल्ला अदालत रुपन्देहीमा पेश गरेको सहकारीसम्बन्धी मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पेश गरेको सहकारी ठगीसम्बन्धी मुल मुद्दामा २८ जना, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणसम्बन्धी थप अभियोग पत्रमा १७ जना र पुरक मुद्दा अभियोगपत्रमा मूल मुद्दाका आठजनासहित पुरक मुद्दाका १४ जना समेत गरी २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।

अदालतले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राई (जिबी) सहित १७ जनाविरुद्ध थप अभियोजन र गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता गरेको श्रेस्तेदार  ज्ञवालीले बताए । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमा मुद्दा चल्ने उनको भनाइ छ ।

इलाका प्रहरी कार्याय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाबाट एक अर्ब १२ करोड बिगो दाबीसहित गत २६ माघमा जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो  ।

जिल्ला सरकारी वकीलको कार्यालयले रवि लामीछानेसहित पुरक मुद्दाका १४ र पुरानो २८ जनामध्येबाट ८ जना गरी २२ जनालाई संगठित सहकारी ठगीमा मुद्धा दर्ताका लागी जिल्ला अदालतमा फाईल पठाएको थियो । आईतबार मुद्दाका लागि सरकारी वकीलको कार्यालयले २२ जनाबाट ५५ करोड २२ लाख रुपैयाँ बिगो माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

सुप्रिम सहकारीबाट लामिछानेले व्यक्तिगत दुई करोड रुपैयाँ ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, सामुहिक दायित्वमा रहने गरी दुई करोड १३ लाख ऋण लिएको प्रहरी श्रोतको भनाइ छ ।

छबिलाल जोशीले दुई करोड ५० लाख व्यक्तिगत र एक करोड ७८ लाख सामुहिक दायित्व हुने गरी चार करोड २८ लाख अपचलन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख रहेको स्रोतको भनाइ छ ।

 

समाचार वर्गहरू