राजनीतिक जीवनको अन्त्यमा सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर फौजदारी अभियोगमा देउवा

65
फाइल फोटो

काठमाडौँ — करिब ६ दशकसम्म राजनीतिको केन्द्रमा रहेर पाँच पटक प्रधानमन्त्रीसमेत भइसकेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको राजनीतिक यात्रा दुखान्त मोडमा पुगेको छ । सरकारले देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन सुरु भइसकेको छ ।

सम्पत्ति शुद्धीकरण विभागले देउवा परिवारका नाममा भएको चल–अचल सम्पत्ति पनि रोक्का गरिसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । ‘हाल विदेशमा रहेका उनीहरूलाई रेड नोटिस जारी गरी नेपाल ल्याउने प्रक्रिया थाल्न पक्राउ पुर्जी जारी गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब रेड नोटिसको प्रक्रिया अब अघि बढ्छ ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गरिएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार पक्राउका लागि अनुमति दिएको हो । देउवा दम्पती भने निर्वाचन अघि नै सिंगापुर उडेका थिए । १३ फागुनमा देउवा र उनका प्रमुख स्वकीय सचिव एवं भतिज भानु देउवा सिंगापुर उडेका थिए । त्यसको तीन दिनअघि दिल्ली गएकी आरजु स्वदेश नफर्की त्यतैबाट सिंगापुर गएकी थिइन् । केही समयअघि उनको निजी सचिवालयले सिंगापुरबाट हङकङ गएको जानकारी गराएको थियो ।

पक्राउ पुर्जी जारीपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका देउवाले अहिले आफू कहाँ छु भन्ने खुलाएका छैनन् । उनले स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचार जारी रहेको जानकारी दिएका छन् । देउवाले आफ्नो र परिवारबारे सम्पत्तिसम्बन्धी विषयमा भ्रामक प्रचार भएको दाबी गरेका छन् । ‘नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु,’ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देउवाले भनेका छन्, ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ, मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ ।

लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको  शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासागै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुा, मेरो जीवन एउटा खुला पुस्तकका रूपमा छ । –शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ मा ल्याएको स्मरणसमेत गरेका छन् । ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ, अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,’ उनले भनेका छन् । यता सरकारले भने उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा ‘रेड नोटिस’ जारी गर्ने तयारी गरेको छ ।

नेपाल अन्तर्राष्ट्रिय प्रहरीहरूको साझा संस्था इन्टरपोलको सदस्य राष्ट्र हो । अपराधमा संलग्न व्यक्ति अनुसन्धान एवं कारबाहीबाट उम्किन आफ्नो देशबाट भागेर विदेश पुगेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित देशका प्रहरीले इन्टरपोलको सहयोग माग्न सक्छ । त्यसपछि इन्टरपोलले आबद्ध राष्ट्रहरूमार्फत फरार व्यक्तिको खोजी गर्न ‘रेड नोटिस’ जारी गरी विश्वभर ‘सर्कुलर’ गर्छ । तर, ‘रेड नोटिस’ जारी हुनलाई निश्चित प्रक्रिया भने पूरा गर्नुपर्छ ।

अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार कसुरको अनुसन्धान गर्ने निकायले फरार व्यक्तिविरुद्ध अपराध दर्ता पुस्तिकामा कसुर दर्ता गरेपछि त्यस्ता व्यक्तिविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गराउनुपर्छ । यही प्रक्रिया पूरा गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।  इन्टरपोलमा नेपालबाट प्रहरी महानिरीक्षक पदेन सदस्य रहने व्यवस्था छ ।

हरेक राष्ट्रमा त्यस देशमा अपराध अनुसन्धान गर्ने प्रहरी संगठन प्रमुखलाई इन्टरपोलले ‘नेसनल सेन्ट्रल ब्युरो’ (एनसीबी) प्रमुख बनाउँछ । फरार व्यक्तिको खोजीका लागि सम्बन्धित देशको एनसीबी सचिवालयबाट इन्टरपोलमा रेड नोटिससहित विभिन्न किसिमका नोटिस जारी गराउन अनुरोध गर्न सक्ने व्यवस्था छ । यसरी जारी गरिएको अनुरोधसहितको पत्रका विवरणलाई केलाएर इन्टरपोलले आवश्यक ठानेमा नोटिस जारी गरी भागेका व्यक्तिको खोजीका लागि सबै सदस्य राष्ट्रका एनसीबी सचिवालयमा परिपत्र गर्छ । त्यसपछि व्यक्तिको खोजी सुरु हुन्छ । यस्ता व्यक्ति पक्राउ परेमा माग गर्ने राष्ट्रका प्रहरीसँग समन्वय गरेर फिर्ता गरिन्छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीलाई स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्न सार्वजनिक अपिल गरेका छन् ।

पौडेलले अनुसन्धान निष्पक्ष र  स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै देउवा दम्पतीलाई कानुनसम्मत प्रक्रिया र अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणासमेत राखेका छन् ।  भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ नै देउवाको राजनीतिक जीवनको दुखान्त मोड बन्न पुग्यो । आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नेपाली तथा विदेशी मुद्रा जलेको घटनाले उनको छवि गम्भीर विवादमा तानियो ।

देउवाले उक्त दृश्य एआईबाट बनाइएको दाबी गर्दै खण्डन गरे । तर, त्यसै घटनाबाट सुरु भएको अनुसन्धान अहिले पक्राउ पुर्जीसम्म आइपुगेको छ ।  जेन–जी आन्दोलनले चौतर्फी दबाब बढेपछि देउवाले असोज २८ देखि पार्टीको कार्यकारी भूमिकाबाट विश्राम लिने घोषणा गरेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए । तर, राजनीति सामान्यकरण हुँदै जाँदा उनी फेरि सक्रिय राजनीतिमा फर्किए । जुन कदमको पार्टीभित्र विद्रोह भयो ।

गत पुस २७–३० मा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नयाँ सभापति बने । त्यस घटनाबाट निराश बनेका देउवा २१ फागुनको चुनावमा भोट हाल्नसमेत नकुरी एक साताअघि नै विदेशिएका थिए ।  किशोरावस्थामै राजनीतिमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए । उनले २०२० तिर कांग्रेसमार्फत सक्रिय राजनीति सुरु गरेका थिए । २५ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भए । कांग्रेसभित्र संगठनात्मक राजनीति मजबुत बनाउँदै संसदीय दलको नेता बनेर २०५२ मा पहिलो पटक प्रधानमन्त्री बने । कान्तिपुर

समाचार वर्गहरू