राजनीतिक दलले बुझाए समानुपातिक सदस्यको सूची, छानबिन गर्न तिन दिन लाग्ने

65

काठमाडौँ । राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यको सूचि बुझाएका हुन् । रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ महिला र नौ जना पुरुष गरी ५७ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले सिफारिस गरेको नामावली निर्वाचन आयोगले प्रमाणीकरण नगर्दासम्म सार्वजनिक नगर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकले खसआर्यतर्फ १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेशी नौ, थारू चार जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दललाई आइतबारसम्मको समय दिएको थियो । जस अनुसार रास्वपाको केन्द्रीय कार्यालयले जिम्मेवारी तोकेका केही कर्मचारी र पार्टीका सचिवालय सदस्यको नेतृत्वमा निर्वाचन आयोगमा पुगी समानुपातिक नामावली बुझाएको हो । रास्वपाले आयोगमा बुझाएको सूची रुजु नभएसम्म सूचीमा समावेश भएका सदस्यको नाम सार्वजनिक नगर्ने जनाएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले भने, “राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नाम भेरिफाई गरी प्रमाणित गर्दैन, तबसम्म त्यसलाई हामीले हाम्रोतर्फबाट प्रस्तावित मात्रै मान्न सकिने भएकाले हामी नामहरू निर्वाचन आयोगतर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म कुर्ने छौँ ।”

पार्टी सभापति रवि लामिछाने अस्वस्थ भएका कारण समानुपातिक सांसदहरूको सूची टुङ्गो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रूपमा बसेको थियो । हाल स्वास्थ्य लाभ गरिरहनुभएका लामिछाने उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले तथा नेताहरू शिशिर खनाल, मनिष झा, सोबिता गौतम, हरि ढकाल, गणेश कार्कीलगायतका नेता बैठकमा सहभागी हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सांसदको शपथ तथा प्रमाणपत्र वितरणलगायतका काम पूरा गरी आगामी साताभित्र सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।

कांग्रेसले बुझायो सूची

यस्तै नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ । सानेपामा आइतबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय अनुसार समानुपातिकको बन्दसूची अनुसार उम्मेदवारको नामावली सिफारिस गरिएको हो । प्रवक्ता देवराज चालिसेले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाइएको बताए । कांग्रेसले समानुपातिकतर्फ २० सदस्य प्राप्त गरेको छ । बैठकले बन्दसूचीमा रहेको समावेशी समूह अन्तर्गत आदिवासी जनजाति समूहमा छ जना, खसआर्य समूहमा छ जना, थारूमा एक जना, मधेशीमा तीन जना, दलितमा तीन जना र मुस्लिममा एक जनाको नाम छनोट गरेको छ ।

कांग्रेसले एक महिलासहित १८ वटा क्षेत्रमा प्रत्यक्षतर्फ जितेको छ । उनले समावेशी प्रणाली अनुसार १५ महिलासहित २० जना सिफारिस गरिएको बताए ।

नेकपाले बुझायो नौ सदस्यको सूची 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा आइतबार नौ जना समानुपातिक सदस्यको नाम बुझाएको छ । पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार खसआर्यबाट प्रमेश हमाल, बलावती शर्मा, आदिवासी जनजातिबाट पर्शुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता भएकाबाट प्रेम बयक, मधेशीबाट जोगकुमार वरवरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा र थारूबाट निशा चौधरीको नाम बुझाइएको छ । यसै गरी नेकपा (एमाले) ले र श्रम संस्कृति पार्टीले यसअघि नै सूची बुझाइसकेको छ ।     

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका छ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो ।

जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो । सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लस्टर अनुसार ५७ सांसदको सूची पेस गरेको छ । यसै गरी कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार/चार उम्मेदवारको सूची क्लस्टर मिलाएर आइतबार पेस गरेको थियो ।

क्लस्टर अनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । दलहरूले क्लस्टर अनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रटि नभए सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने प्रवक्ता जिसीले बताए । दलहरूले क्लस्टर अनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने छ । रासस

 

समाचार वर्गहरू