राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अत्यन्तै कमजोर

6

काठमाडौं । सरकारको विशेष प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च र भौतिक प्रगति अत्यन्तै कमजोर देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेटको जम्मा १५ दशमलव ४९ प्रतिशतमात्रै ६ महिनामा खर्च भएको छ ।

२७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालू बजेटमा राष्ट्रिय गौरवका २३ वटा कार्यान्वयनमा छन् । पुस मसान्तसम्म यी आयोजनामा ६७ अर्ब ८६ करोड विनियोजन भएकोमा जम्मा १० अर्ब ३९ करोड (१५ दशमलव ४९ प्रतिशत) मात्र खर्च भएको छ ।

मेलम्ची खानेपानी आयोजना ९९ दशमलव ५२ प्रतिशत र पुष्पलाल राजमार्ग ८१ दशमलव ७३ प्रतिशत भौतिक प्रगतिसहित अगाडि देखिएका छन् भने निजगढ विमानस्थलको प्रगति शून्य छ ।

कुन आयोजनाको प्रगति विवरण

केही पुराना र ठूला सडक आयोजनाको भौतिक प्रगति उत्साहजनक देखिए पनि नयाँ र जटिल आयोजना सुस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

पुष्पलाल (मध्य पहाडी) राजमार्ग : कुल भौतिक प्रगति ८१ दशमलव ७३ प्रतिशत पुगेको छ । १५२९ किलोमिटर सडक कालोपत्रे सकिएको ।

हुलाकी राजमार्ग : ७४ दशमलव ३५ प्रतिशत भौतिक प्रगतिसहित १३८० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) : भौतिक प्रगति ४२ दशमलव  १३ प्रतिशतमात्रै । ६ महिनामा २ अर्ब ४२ करोड खर्च ।

मेलम्ची खानेपानी : पहिलो चरणको भौतिक प्रगति ९९ दशमलव ५२ प्रतिशत पुगेको छ । बाढी र प्राकृतिक विपत्तिले मुहान क्षेत्रमा अझै समस्या ।

विमानस्थलहरू गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति शून्य ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको प्रगति जम्मा ८ दशमलव १८ प्रतिशत ।

राष्ट्रिय गौरवका आयोजना विलम्ब हुनुमा जग्गा प्राप्ति र मुआब्जा, रुख कटान र वन क्षेत्रको भोगाधिकारसम्बन्धी कानुनी जटिलता, डिपीआर टुंगो नलाग्दै योजनाको सुरूवात, आन्दोलनको प्रभाव जस्ता समस्या देखाइएको छ ।

अर्थमन्त्रालयले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान गरेको छ। बजेटको अर्धवार्षिक मूल्यांकन गर्दै पुुँजीगत खर्चको अनुमान ३ खर्ब १९ अर्ब मात्रै हुने अनुमान गरिएको हो।

अर्थमन्त्री रामेश्वर खनाल नेतृत्व गरिएको मूल्यांकनमा सबै प्रकारका खर्च घट्ने अनुमान गरिएको छ। चालु वर्षको लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो। तर, अहिले भने ८८ अर्ब रुप‌याँ कम खर्च हुने अनुमान गरिएको छ।

त्यस्तै चालु खर्च ११ खर्ब ८० अर्ब विनियोजन गरिएकोमा १२ खर्ब २५ अर्ब खर्च हुने अनुमान गरिएको थियो। वित्तीय वणयवस्थाको लागि ३ खर्ब ७५ अर्ब विनिय‍जन गरिएकोमा ३ खर्ब १८ अर्ब खर्च हुने अनुमान गरिएको थियो।

समाचार वर्गहरू