रुपन्देहीको तिलोत्तमामा मंसिर ७ गतेदेखि विद्यालय खुल्ने

53

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय यही मंसिर ७ गतेबाट खुल्ने भएका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैतदेखि लागू गरिएको लकडाउनका कारण बन्द रहेका विद्यालय स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन गर्न लागिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुरु गर्ने निर्णय भएको तिलोत्तमा नगरपालिकाको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

मापदण्ड अनुसार विद्यालयले कक्षाकोठा भित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनु पर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको नगरपालिकाले जनाएको छ ।

मापदण्डमा ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन नपाइने, विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनु पर्ने जनाएको छ ।

त्यस्तै, चार सय भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रुपमा कम्तिमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सो भन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।

समाचार वर्गहरू