काठमाडौं – बिहार विधानसभा चुनावमा पार्टीले चौतर्फी हार बेहोरेपछि राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालु प्रसाद यादवको परिवारमा फेरि कलह चर्किएको देखिएको छ ।
चुनावअघिदेखि नै ‘बागी तेवर’ देखाउँदै आएकी लालु यादवकी छोरी रोहिणी आचार्यले खुला विद्रोह गर्दै राजनीतिसँगै परिवार पनि त्याग्ने घोषणा गरेकी छन् । यसपटक उनले तेजस्वी यादवका सबैभन्दा विश्वासिला संजय यादवमाथि गम्भीर आरोप लगाएकी छन् ।
स्मरण रहोस्, रोहिणी आचार्य लालु यादवकी ती छोरी हुन्, जसले आफ्ना बुबालाई मिर्गौला दान गरेकी थिइन् ।
लामो समयदेखि यस विषयमा मुखर रहँदै आएकी रोहिणीले यसअघि १८ सेप्टेम्बरमा एउटा फेसबुक पोस्ट सेयर गर्दै सञ्जय यादवविरुद्ध टिप्पणी गरेकी थिइन् । उक्त पोस्टमा एउटा तस्बिर पनि राखिएको थियो, जुन तेजस्वी यादवको बिहार अधिकार यात्राको क्रमको थियो । तस्बिरमा रथ (बस) भित्र तेजस्वी यादवको सिटमा सञ्जय यादव बसेका देखिन्थ्यो ।
त्यसपछि रोहिणीले सामाजिक सञ्जालमा पार्टीका साथै परिवारका सबै सदस्यलाई अनफलो गरेकी थिइन् । उनले आफ्ना विरोधीहरूलाई खुला चुनौती दिँदै यदि कसैले आफूले कहिल्यै आफ्नो वा अरूका लागि केही मागेको प्रमाणित गरिदिएमा राजनीति र सार्वजनिक जीवनबाट आफूलाई अलग गर्ने बताएकी थिइन् । एजेन्सी