रासस/कास्की – पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवंगत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो ।
प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्ने उक्त शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने छ ।
नेपाल पर्वतारोहण संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा हुने पूजाको पहिलो दिन लामा गुरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त शान्तिदीप हस्तान्तरण गर्ने र दीपसहितको र्याली पोखराको मुख्य पर्यटकीय स्थल हल्लनचोकबाट शुरु गरिनेछ ।
शान्ति पूजाअन्तर्गत माघ २१ गते बिहान शान्तिदीप र काङग्युर तथा तेन्ग्यूर परिक्रमा, दिउँसो लामाहरुबाट बज्रकिलाया मुकुट नृत्य कार्यक्रमको आयोजना हुने र सोही दिन संग्रहालयमा वाङ अभिषेकका साथै धार्मिक प्रवचन गरिने छ । मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेसहित ६० बढी लामा गुरुबाट शान्तिको कामनासहित गरिने प्रवचनमा ५०० भन्दाबढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिने नेपाल पर्वतारोहण संघका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक कुलबहादुर गुरुङले बताए ।
बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवं विश्वमा धार्मिक सहिष्णुताको सन्देश पुर्याउने लक्ष्य राखिएको छ । पूजामा उपस्थित भक्तजनहरुलाई मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेद्वारा आशिर्वाद (वाङ) प्रदान गर्ने कार्यक्रम रहेको छ ।
पूजा सम्पन्न गर्न १४४ सदस्यीय सल्लाहकार समितिसहित आर्थिक समिति, पूजा व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, अतिथि निमन्त्रणा तथा सत्कार उपसमिति, गुरु तथा अन्य लामाहरूलाई निमन्त्रणा तथा सत्कार उपसमिति र स्वयंसेवक, सुरक्षा तथा सुरक्षागार्ड उपसमिति गठन गरिएको छ । विभिन्न हिमालहरूको आरोहण एवं पदयात्राका क्रममा पर्यटक हराइरहेका वर्तमान अवस्थामा गर्न लागिएको विश्व शान्ति पूजालाई अत्यन्त महत्वका साथ हेरिएको छ ।
यसअघि अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पहिलो विश्व शान्ति पूजा २०५९ साल फागुन १३ देखि १५ सम्म र दोस्रो २०७२ साल माघ १९ देखि २१ सम्म सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।