लोकतन्त्रको नारामात्र सिमित भयो, व्यवहार र संस्कार संस्थागत गर्न चाहेनौँ : प्रधानमन्त्री सुशिला कार्की

5

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र दिवस मनाइरहँदा पटकपटकका परिवर्तनका उपलब्धि खोसिनु र जेनजी युवाको आन्दोलनसम्म आइपुग्दाको अवस्थाबारे आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले लोकतन्त्रको नारामात्र भट्याएको तर लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गर्नै नचाहेको टिप्पणी गरिन् ।

‘सिद्धान्तमा लोकतन्त्र आयो तर व्यवहारमा विभेदलाई नै प्रश्रय दिइरह्यौँ । संविधानमा समानता लेख्यौँ तर संरचनामा असमानतालाई नै जोगाइरह्यौँ । एउटै वर्ग सत्तामा स्थायी रूपमा हालीमुहाली गरिरहने, स्रोत(साधनमा एकाधिकार जमाइरहने र राज्य संरचनामा पजनी चलाइरहने सिलसिलाको अन्त्य हुनै सकेन ।

यस्ता अपसंस्कृतिले राज्यप्रति विश्वास हराउँछ र विद्रोह जन्माउँछ’, कार्कीले भनिन्, ‘यहाँ त्यही भयो बजेट वितरणमा भएको मनोमानीलाई सम्झिऊँ । समानुपातिक निर्वाचन प्रणालीबाट प्राथमिकतासाथ लाभ पाएकाहरूको सूची केलाऊँ । छात्रवृत्ति र रोजगारीमा गरिएको काखापाखा हेरौँ । अनि यहाँ विद्रोह नभएर के हुन्छ र ? सीमान्तकृत, पहुँचहीन र वञ्चित समुदायमाथि अन्याय, विभेद र बहिष्करण कायम राखेर लोकतन्त्र जीवित रहन नसक्ने उनको जिकिर छ ।

प्रजातन्त्रको वास्तविक झल्को आम मानिसको मुहारमा झल्किने आनन्ददायी मुस्कान र उनीहरूका निस्फिक्री निद्रामा झल्कनुपर्ने कार्कीको भनाइ छ । । लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता भएको भन्दै यही कारण ठूलो युवा पङ्क्ति पलायन भएको उनको निष्कर्ष छ ।

तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको भन्दै उनले यस निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने आफूले विश्वास लिएको बताएकी छन् ।

समाचार वर्गहरू