विकास कसरी गर्ने नेमकिपाबाट सिक्नूस् – बिजुक्छे

152

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले विकास कसरी गर्ने भनेर आफूहरूबाट सिक्न दलहरूलाई चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरमा भएको नेमकिपाको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।

रोजगारको नाममा आफ्नो मान्छेलाई राज्यको ढुकुटी बाँड्ने, ठाउँठाउँमा छर्ने कामले रोजगारी सिर्जना गर्न पनि नसक्ने उनको भनाइ छ ।‘अहिलेका राजनीतिक दलसँग जनतालाई केन्द्रमा राख्ने विचार पनि छैन । विकास कसरी गर्ने भन्ने सही योजना पनि छैन,’ उनले भने, ‘अहिलेका राजनीतिक दलसँग तागत छ भने विकास गरेर देखाउन् होइन भने माफी मागुन् र हामीबाट सिकुन् ।’

अध्यक्ष बिजुक्छेले वर्तमान सरकारसँग विगतका सबै गल्ती सच्याएर देश र जनताको लागि राम्रो काम गर्ने अवसर रहेको तर नसच्चिए उनीहरू पनि इतिहासको कठघरामा उभिनुपर्ने जिकिर गरे । ‘हामी अहिलेको सरकारलाई पनि भन्छौं– तिमीहरूले पनि गल्ती सच्याएनौ भने जनताले तिमीहरूलाई पनि इतिहासले कठघरामा उभ्याउने छन् ।’

आजबाट सुरु भएको महाधिवेशन १९ फागुनसम्म चल्नेछ । महाधिवेशनमा काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरूबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

नेमकिपा स्थापना भएदेखि नै नारायणमान बिजुक्छे (रोहित) पार्टी अध्यक्ष छन् । १० माघ २०३१ मा बिजुक्छेको नेतृत्वमा नेपाल मजदुर किसान पार्टी स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

समाचार वर्गहरू