काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) मा पुनरागमनसँगै पार्टीको नेतृत्व र वैचारिक दिशाबारे बहस तीव्र बन्न पुगेको छ । भण्डारीको सक्रिय राजनीतिमा फर्किनुलाई लिएर एमालेभित्र ध्रुवीकरण समेत भइरहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको ५४औं सचिवालय बैठकमा १० घन्टाभन्दा बढी समय चर्काचर्कीमै बित्यो । बैठकको प्रारम्भमै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिनुपर्ने धारणा राखेपछि बहस उत्कर्षमा पुगेको हो ।
अध्यक्ष ओलीको भनाइपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू सुरेन्द्र पाण्डे तथा युवराज ज्ञवालीले स्पष्ट प्रतिवाद गरे । ओली र पोखरेलबीच आमनेसामनेकै अवस्था आयो । पोखरेलले त अध्यक्ष ओलीमाथि “पार्टीमा सर्वसत्तावाद लाद्ने, आफूलाई विकल्पहीन ढंगले प्रस्तुत गर्दै अन्य नेताको मानमर्दन गर्ने” आरोप नै लगाएका थिए ।
१०औं महाधिवेशनपछि एकछत्र प्रभाव जमाएका ओलीका लागि विद्याको पुनरागमन सन्तुलन भत्काउने खालको चुनौती बनेको देखिन्छ । यही कारण उनी विद्यालाई विधान महाधिवेशनमा प्रवेश रोक्न सक्रिय भएका छन् ।
उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय गम्भीर बारम्बार बताउँदै आएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा पनि यही बताएका ओलीले शुक्रवारको पोलिटब्यूरो बैठकमा पनि दोहोर्याएका छन् ।
ओलीले बैठकमा भने– ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने भन्ने विषयले पनि हिजो पनि त्यो विषयले प्रवेश पाएको छ र आज पनि त्यो विषयले प्रवेश पाएको छ। राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमापति भइसकेको व्यक्ति, देशको सर्वोच्च पदमा पुगेको व्यक्ति, गणतन्त्रको गौरबको रूपमा रहेको व्यक्ति, न्यास्नल इम्युनिटीको रूपमा रहेको व्यक्ति आज राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो, यसमा पार्टीले उचित समयमा चाहिँ एउटा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ ।’,
सचिवालय बैठकले यसै रणनीतिको हिस्सा स्वरूप दसौं महाधिवेशनबाट निर्वाचित प्रतिनिधिहरूमात्र विधान महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको छ । यस निर्णयले विद्यादेवी भण्डारी मात्र होइन, मनोनीत केन्द्रीय सदस्यहरू पनि विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने छैनन् ।
त्यसैगरी ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोल्दै बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमालाई हटाउने सैद्धान्तिक निर्णयसमेत गरेको छ ।
सार्वजनिक रूपमै ओलीले भण्डारीलाई नेतृत्व सुम्पन नसकिने स्पष्ट गरिसकेका छन् । पत्रकार विजयकुमार पाण्डेसँगको ‘दिशानिर्देश’ कार्यक्रममा उनले भने, “रामवरण यादवले राष्ट्रपति पदपछि राजनीति नचलेर थिति बसाए, विद्याजीले त्यस्तो गर्नु भएन । पार्टीले उहाँलाई फर्काउन ठानेको छैन । कार्यकारी अनुभव पनि छैन, त्यसैले अहिले उहाँलाई नेतृत्व दिन सकिने अवस्था छैन ।”
तर भण्डारी भने एमालेको नेतृत्वकै आकांक्षासहित राजनीतिमा फर्किएकी छन् भन्ने कुरामा स्पष्ट देखिन्छ । पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा उनले पार्टी नेतृत्व लिन सकृय राजनीति थालेको स्वीकार गरेकी छन् ।
पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए । जबाफमा उनले भनिन्, ’तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुप¥यो नि ’ एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ’त्यसमा कुनै सन्देह छ र ?’
भण्डारीको यस्तो उभ्यक्तिपछि ओलीले झनै आक्रामक शैली अपनाएका छन् । झापामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने, “एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने चाहना राख्नेहरूको सपना कहिल्यै पूरा हुँदैन ।”
भण्डारीको पुनरागमन ओलीका लागि नेतृत्वमा चुनौती मात्र होइन, पार्टीभित्रको सत्ता समीकरण पुनः लेखिने सङ्केतसमेत बनेको छ । त्यसैले उनले गुटबन्दी नगर्न चेतावनी दिँदै आफूले पार्टीमा मजबुत पकड राखिरहेको सन्देश दिन खोजेका छन् । दृष्टि न्युज बाट