मेलम्ची (सिन्धुपाल्चोक) । ‘विनोद नेपाल स्मृति फाउण्डेशन’ ले सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । सिभिल इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूलाई सो फाउन्डेसनले उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरेको जनाएको छ । यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी, प्रतिभा चालिस, हिमानी चालिसे, सन्दिप गिरी र मानवी पुरी रहेको समेत फाउन्डेसनका अध्यक्ष डाक्टर गंगादत्त नेपालले बताएका छन् ।
उनले मेलम्चीमा एक कार्यक्रममा विद्यार्थीहरू हिमानी चालिसे र मानवी गिरीले फाउन्डेसनको सहयोगले आफ्नो पढाईमा थप सहजता भएकोले फाउन्डेसनप्रति आभारी व्यक्त गरेको बताएका छन् । ईन्द्रेश्वरी माविका प्रधानाध्यापक देवि श्रेष्ठले फाउन्डेसनको सहयोगले यसअधि पनि ईन्जिनियरहरू उत्पादन गरि लोकसेवा पास गर्न सफल भएकाले विद्यार्थीहरूले यसलाई गहन रूपमा लिनुपर्ने बताएका छन् । सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा.गंगादत्त नेपालले विनोद नेपाल जस्तै धेरै इन्जिनियर उत्पादन गर्न आफूले यो अभियानको सुरु गरेको बताएका छन् ।
उनले यस अभियानबाट यसअघि थुप्रै विद्यार्थीहरू सफल इन्जिनियरको रुपमा स्थापित भइसकेको र आगामी दिनमा पनि अन्य विद्यार्थीहरूका लागि सुनौलो भविष्य निर्माणमा साथमा साथ मिलाएको बताएका छन् । फाउण्डेशनले विगत ५ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न यस प्रकारको सहयोग गर्दै आएको समेत उनले बताएका छन् । संस्थाका संस्थापक अध्यक्ष समेत रहेका डा नेपालले विद्यालयको सिफारिस र अन्तर्वार्ताका आधारमा छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरू छानिएको बताएका छन् ।
यदि विद्यार्थीको शैक्षिक गुणस्तर खस्किँदै गएमा सो छात्रवृत्ति लाई निरन्तरता नदिने पनि उनले बताएका छन् । उनले यो छात्रवृत्तिलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि विद्यार्थीहरूले आफ्नो शैक्षिक नतिजा सन्तोषजनक राख्नुपर्ने प्रावधान रहेको बताएका छन् । उनले त्यसका लागि फाउण्डेशनले विद्यालय प्रशासनसँग विद्यार्थीहरूको प्रत्येक त्रैमासिक तथा वार्षिक परीक्षाको प्रगति विवरण माग समेत गरेको छ । प्राविधिक शिक्षा अध्ययन गरिरहेका ग्रामीण भेगका विद्यार्थीहरूका लागि फाउण्डेशनको यो कदम निकै सहयोगी सावित हुने विश्वास गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ मेलम्ची नगरपालिकाका स्वर्गीय सिभिल इञ्जिनियर बिनोद नेपालको स्मृतिमा सो फाउन्डेसनको स्थापना गरिएको हो । भने सो फाउन्डेसनद्वारा विगत ५ वर्षदेखि निरन्तररूपमा सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ । फाउन्डेसनका सचिव रोहिणीराज नेपालले फाउन्डेसनको बारेमा प्रष्ट पारेका छन् । समाजसेवी डा. गंगादत्त नेपालको छोरा बिनोद नेपाल उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा २०७६ सालमा कार दुर्घटनामा परि निधन भएको थियो ।
उनको सम्झनामा स्थापना गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । अमेरिकामा पढ्न गएको ३ महिनामा बिनोदको निधन भएको थियो । ईन्जिनियरिङको उच्च अध्ययन गरेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेसनले काम गरिरहेको अध्यक्ष डा नेपालले बताएका छन् ।