काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि, पार्टी सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । मन्त्री साह चैत १३ गते नियुक्त भई कार्यभार सम्हालेका थिए।
पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक कुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु ।

यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ । पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’
मन्त्री शाह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।
त्यसको रहस्य बुझेपछि प्रधानमन्त्री शाह मन्त्री साहसँग असन्तुष्ट बनेका थिए । साह महोत्तरी–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री शाहले श्रममन्त्री हटाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको समेत एकैपटक सपथ गराउने वा के गर्ने भन्ने आन्तरिक छलफलमै रहेको बालुवाटार स्रोतले जानएको छ । पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन सिफारिस गरेको छ ।