काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरू सङ्घीय संसदमा एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुने भएका छन् । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेसको संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दलको बैठकले संसदमा पार्टीको आकार सानो भए पनि सङ्गठित भएर प्रस्तुत हुने निर्णय गरेको राष्ट्रियसभा सदस्य रञ्जित कर्णले जानकारी दिए ।
‘दलको बैठकमा सङ्ख्या थोरै भए पनि सांसदहरू एकीकृत, सङ्गठित र व्यवस्थित भएर प्रस्तुत हुने निर्णय भएको छ,’ कर्णले रातोपाटीसँग भने, ‘जनताको चाहना आर्थिक समृद्धि, विकास र लोकतन्त्र बचाउन खबरदारी गर्ने कुराकानी भएको छ ।’
बैठकमा उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेल पनि सहभागी थिए । उनीहरूले मूलक र पार्टीको छविलाई जोगाउने गरी संसद्मा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका थिए । ‘दलको बैठकमा उपसभापति पुष्पा भुसाल र महामन्त्री प्रदीप पौडेलले संसदमा पार्टीको छवि र देशको छवि जोगाउने काम गर्नुहोला भनेर निर्देशन दिनुभयो,’ प्रतिनिधिसभा सदस्य उर्मिला थपलियाले भनिन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को अधिवेशन आजबाट प्रारम्भ भएछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् । अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संयुक्त दलको बैठक बसेको थियो ।