सरकार आफैंले स्वामित्व लिएर कलेज सञ्चालन गर्न अनेरास्ववियूको आग्रह

16

काठमाडौं — निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारलाई आग्रह गरेको छ ।

अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार आफैंले स्वामित्व लिएर कलेज सञ्चालन गर्न आह्वान गरेका हुन् । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि केन्द्रीय संयोजक महरले यस्तो आह्वान गरेका हुन् ।

केन्द्रीय संयोजक महरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको नीति नियममा बसेर सााच्चीकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं ।’

बढी शुल्क फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन निजी कलेज सञ्चालकहरुलाई उनले आग्रह गरे । अनेक घुर्की, धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णय पालना गर्न पनि संयोजक महरले ध्यानाकर्षण गराएका छन् । मनपरी ढंगले शुल्क लिएको भन्दै सरकारले कडाइ गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थी भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका थिए ।

सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजारभन्दा बढी शुल्क लिन नपाउने मापदण्ड तय गरेको थियो ।

समाचार वर्गहरू