सरकार पक्षले नै आचार संहिता उल्लंघन गरेको कांग्रेसको आरोप

18

(काठमाडौं) – निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचार संहिता सरकार पक्षले नै उल्लंघन गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ ।

आगामी १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको आचार संहिताको सरकार पक्षले नै उल्लंघन गरिरहेको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आचार संहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकार स्वयं सरकारको नेतृत्व गरेको राजनीतिक दल, सो दलबाट निवार्चित जनप्रतिनिधिहरुबाट निर्वाचन आचार संहिताको ठाडो उल्लघंन भएको छ । यस समितिको प्रतिनिधि मण्डलले गत कार्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुसंग भेटघाट गरी सरकार र सत्ता पक्षीय राजनीतिक दलका प्रतिनिधिहरुबाट भएका आचार संहिता उल्लघंनका घटना तत्काल रोक्न र भविष्यमा आचार संहिताको कडाई साथ कार्यान्वयन गर्नका लागि लिखित ध्यानाकर्षण समेत गरिएको थियो ।”

निर्वाचन आयोगले मंसिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत सबै सरोकारवाला पक्षलाई निर्देश समेत गरेको थियो । समितिका संयोजक लेखकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा सरकार पक्षबाटै आचारसंहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने बताए ।

‘सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको छ, आयोगले आचार संहिताको स्वतन्त्र रुपमा निगरानी गर्न नसके जस्तो देखिँदै छ,’ नेता लेखकले भने, ‘सबै पक्षलाई आचारसंहिता पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको थप बलियो भूमिका आवश्यक छ ।’ उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कत्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

मुलुकका ३७ वटा जिल्लाका ५२ स्थान (प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडा अध्यक्ष ४३ जनाका लागि उप–निर्वाचन हुँदै छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनका लागि निर्वाचन ऐन, नियम र निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व र कर्तव्य भएको कांग्रेसले जनाएको छ ।

पछिल्लो समयमा निरन्तर आचारसंहिता विपरीत सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भई रहेको कांग्रेसको आरोप छ । उप–निर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलापमा लागेको आरोप कांग्रेसको छ । आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्यहरु नगर्न सम्बन्धित सबैलाई कांग्रेसले आग्रह गरेको छ ।

समाचार वर्गहरू