काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्बियाका प्रधानमन्त्री अना ब्रनाबीच र राष्ट्रिय सभाका सभामुख माजा गोज्कोभिचसँग शिष्टचार भेटवार्ता गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४१ औं सम्मेलनमा भाग लिन सर्बिया पुगेका अध्यक्ष तिमिल्सिनाले सर्वियाका प्रधानमन्त्री र सभामुखसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा सर्बियाका प्रधानमन्त्री ब्रनाविचले आईपीयू सम्मेलनका क्रममा नेपालबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई थप बलियो भएको बताए ।
दुरीको हिसाबले टाढा भएपनि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षदेखि नै सुमधुर सम्बन्ध रहेको उनले बताए । कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा नेपालका परराष्ट्र मन्त्रीले सर्बिया भ्रमण गर्न लागेकोले थप नयाँ काम र आवश्यक अन्य क्षेत्रमा सहकार्य हुने उनले अपेक्षा व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले आईपीयू सम्मेलन सफलता पूर्वक सम्पन्न गरेकोमा सर्बिया सरकार बधाई तथा धन्यवाद व्यक्त गरे । नेपाल र सर्बिया (पहिलाको युगोस्लाभिया) असंलग्न आन्दोलनका संस्थापक सदस्य राष्ट्र भएको र सर्बियामा भएको असंलग्न राष्ट्रको पहिलो बैठकमा नेपालले सहभागी भएको उनले बताए ।
’दुई देशको विभिन्न अन्तर्रा्ष्ट्रिय र बहुपक्षीय संस्थाहरुमा साझा दृष्टिकोण रहेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, दुबै देश भूपरिवेष्टित र कृषिमा आधारित अर्थतन्त्र भएकाले आगामी दिनमा थप सहकार्य आवश्यक छ ।’
यसैबीच सर्बियाका सभामुखसँगको भेटमा दुवै देश आईपीयूका सक्रिय सदस्य भएकाले संसदीय भ्रमण तथा सहकार्यमा जोड दिनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । साथै छिट्टै दुई देशबीचको संसदीय समूह गठन गरी भ्रमण आदानप्रदानका लागि जोड दिँदै उनले सर्बियाका सभामुखलाई नेपाल भ्रमणका लागि निम्तो दिए ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री र सभामुखमार्फत सर्बियाका जनतालाई भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् । सर्बियाका सभामुख गोज्कोभिकले सर्बिया संसदीय सहकार्य गन्न तयार रहेको बताउँदै भ्रमण वर्ष २०२० भित्र नेपाल आउने बताए ।
दुईपक्षीय भेटमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनासँगै आईपीयू सम्मेलनमा सहभागी राष्ट्रिय सभा सदस्यद्वय खिमलाल भट्टराई, बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल र सर्बियाका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल सहभागी छन् ।