काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्याल सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । सभाको अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सर्वसम्मत रुपमा अर्याल सभामुख निर्वाचित भएको घोषणा गरेका हुन् ।
पार्टी सभापति समेत रहेका प्रास्तवक रवि लामिछाने र समर्थकहरु अर्थमन्त्री स्वर्णिम वाग्ले, भौतिकमन्त्री सुनिल लम्साल र कानुनमन्त्री सोविता गौतमले राय राखेका थिए । अर्याल सभामुख निर्वाचित भएसँगै अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ ।
सभामुख अर्यालले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ । भोलिको बैठकमा उनैले उपसभामुख चयनको प्रक्रिया अघि बढाउनेछन् । उनले रास्वपाको उपसभापति पदबाट राजीनामा समेत दिइसकेको अवस्था छ । उपसभामुखमा हालसम्म नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले दावी गर्दै आएको देखिन्छ ।