सामाजिक सुरक्षा कोषमा सहभागी हुने एन-प्याब्सनको प्रतिबद्धता

16

(काठमाडौं) – राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एन–प्याब्सनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिबद्धता जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एन–प्याब्सनका पदाधिकारी बीच आइतबार मन्त्रालयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

एन प्याब्सन मातहतका विद्यालय र कार्यरत शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा लागि कोषमा सहभागी उनीहरुले जनाएका छन् । छलफलका क्रममा मन्त्री विष्टले सामाजिक सुरक्षा कोष अनिवार्य भएकाले सरकारले थप गरेको समय भित्रै सबै विद्यालय र शिक्षक कर्मचारी सूचीकरण हुन आग्रह गरेका छन् ।

संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै निजी विद्यालयहरु समयसीमा भित्रै सहज सहभागी हुने विश्वास लिएको उनले बताए । निजी विद्यालयका अन्य समस्या समाधानका लागि सरकार सदैव तयार रहेको भन्दै मन्त्री विष्टले समस्या बुझ्न, सहजीकरण गर्न र आवश्यक निर्णय गर्न सरकार सधै सकारात्मक रहेको बताए ।

शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहँदै आएको पनि उनले बताए । कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिने मन्त्री विष्टको भनाई छ ।

छलफलमा एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सहितकोे पदाधिकारीले सबै विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै यो समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्ने बताएका थिए । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशिल रहेको उनीहरुले बताए ।

प्याब्सनमा आवद्ध कतिपय विद्यालयहरु कोषमा सूचीकृत भैसकेको र बाँकी पनि समयमै भैसक्ने एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले प्रतिवद्धता जनाए । निजी विद्यालयहरुले भोग्नुपरेका अन्य समस्यामा सरकारले पहल गरिदिने अपेक्षा गरेको उनले बताए ।

समाचार वर्गहरू