सीमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रधानमन्त्री ओली

17

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भू-भागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार कालापानी क्षेत्रको सीमा विवादको विषयमा छलफल तथा परामर्शका लागि आयोजना गरेको सर्वपक्षीय बैठकमा लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भू-भागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताएका हुन् ।

बैठकमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कूटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने बताएका छन् ।

“सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताका साथ कूटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ” प्रधानमन्त्री ओलीले भने, “सीमाका विवाद समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भारतको व्यवहारमा परिवर्तन आएको बताएका छन् । हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा आफू आशावादी रहेको उनले बताए ।

“हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुँदैन” प्रधानमन्त्री ओलीले भने, “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरु सहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागू नहुने बताए । “हिजोका भाषा र शैली स्वीकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन” प्रधानमन्त्री ओलीले भने, “अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ । ”

प्रधानमन्त्री ओलीले हालको सीमा विवादको विषयमा कसैलाई उत्ताउला पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । “उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ” प्रधानमन्त्रीओलीले भने, “भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं ।”

समाचार वर्गहरू